चितवन, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई नजिस्काउन चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस चितवनले गरेको शक्ति प्रदर्शनमा बोल्दै कांग्रेस सुतीरहेको बाघ भएको र जिस्काउन खोज्नेलाई नछाड्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जिस्काउन जो आयो, त्यो गयो, । अधिकांश समय सरकारको आलोचनामा समय खर्चेका कांग्रेस प्रवक्ता शर्माले सुतेको बाघलाई जिस्काउन आउनेहरुको हालत नराम्रो हुने संकेत गर्नुभयो ।
सभामा उहाँले तत्कालीन राजा महेन्द्रलाई पल्टाउने कांग्रेसलाई कमजोर नठान्न पटकपटक चेतावनी दिनुभएको थियो । प्रवक्ता शर्माले भन्नुभयो, ‘ओली सरकारले नेपाललाई उत्तर कोरिया बनाउन खोजे नेपाली कांग्रेस स्पात भएर उभिन्छ, हामी कुनै हालतमा उत्तर कोरिया हुन दिने छैनौँ ।’
सरकारले मुलुकमा रेल सञ्चालन गर्ने कुरा सकारात्मक भए पनि प्रष्ट भिजनसहित रेलका कुरा गर्नुपर्ने बताएका छन् ।
रेल नेपालमा आउनुपर्छ, रेल नेपालमा ल्याइनुपर्छ भनेर नेपाली काँग्रेसले पनि घोषणा पत्रमा उल्लेख गरेको शर्माले बताए । सपनाको शीरमा रातो रिबन बाँधेर रेलको सपना पूरा नहुने नहुने भएकाले यसका लागि स्रोत र लगानी गर्ने वातावरण हुनुपर्ने शर्माको भनाइ छ । नेपाली काँग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै शर्माले अन्य देशसँग सहयोग मागेर रेल निर्माण गर्न सकिने भएपनि ऋण लिएर तथा नेपालकै लगानीमा रेल सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो ।
रेलको सपना पूरा गर्न संकल्प, योजना, डीपीआर र लगानी आवश्यक पर्ने भन्दै शर्माले रेल बनाइदिन विदेशीलाई आग्रह गर्दै उनीहरुकै मुलुकको नाममा रेलको नाम राख्न सकिने बताए । काँग्रेस प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको अनसन, निर्मला पन्तका बारेमा अधिकांश समय भाषण गरेका थिए । सरकारले शान्ति सुरक्षा प्रदान गर्न नसकेको शर्माको भनाइ छ । नेपाली काँग्रेस चितवनले नारायणगढमा आयोजना गरेको बिरोधसभाका कारण पूर्व पश्चिम राजमार्ग करिब दुई घण्टा अवरुद्ध भएको थियो ।
भरतपुरको चौबिसकोठीबाट ब्यानर र नारा सहित ¥याली तथा सभामा विद्यार्थी तथा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो । विरोध ¥यालीमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । काँग्रेसले वर्तमान ओली सरकारलाई सडकबाट काँग्रेसको शक्ति देखाएको श्रेष्ठले बताए । सरकारलाई तानाशाही बन्न नदिनका लागि काँग्रेसले निरन्तर सदन र सडकबाट खबरदारी जारी राख्ने श्रेष्ठको भनाइ थियो ।