चितवन, १८ माघ । नारायणगढमा नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा बालिएको मसाल निभाउने क्रममा प्रहरी र विद्यार्थीहरुबीच झडप भएको छ ।
झडपको क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रामप्रसाद गौतमसहित दुई जना घाइते भएका छन् । घाईते मध्ये प्रहरी निरीक्षक गौतमको अवस्था केही गम्भिर रहेको छ । उनको टाउकोमा पाँच वटा टाँका लगाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले जानकारी दिए । उनले प्रहरी संयमित हुँदा हुँदै नेविसंघकै कार्यकर्ताहरुले प्रहरी माथि आक्रमण गरेको बताए ।
यता विद्यार्थी नेताहरुले भने प्रहरीले पुत्ला जलाउने क्रममा हस्तक्षेप गरेपछि सामान्य झडपको अवस्था सिर्जना भएको बताएका छन् ।
उनीहरुले नारायणगढको पुलचोक देखि लायन्सचोक सम्म राँके जुलुस निकालेका थिए । सो क्रममा नेविसंघका विद्यार्थीहरुले सरकारको विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
सरकार सञ्चालनमा असक्षमता प्रस्तुत गरेको भन्दै पुत्ला दहन गरेको नेविसंघले जनाएको छ । पुत्ला दहन कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले अहिलेको सरकार अधिनायकवादतर्फ अघि सरेको आरोप लगाएका छन् । उनीहरुले सरकार बिरुद्ध बोल्न, लेख्न नपाइने, प्रतिपक्षका कुरामा सुनुवाई नहुने, आफैले गरेको सम्झौता आँफैले उल्लघंन गर्ने जस्ता काम गरेका कारण अधिनायकवाद तर्फ केन्द्रित भएको बताएका हुन् । नारायणगढमा नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्वमा निकालिएको र्यालीमा सहभागिहरुले सरकार बिरोधी नाराबाजी गरेका थिए ।