पर्वत,३ माघ । कुश्मा नगरपालिका–१ मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।मृत्यु हुने मध्ये तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार, उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन, विषमाया पुन र बाग्लुङ्ग नगरपालिका–४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।

अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईत भएका ३४ मध्ये १७ जना गम्भीर छन् ।

बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै झरेका कारण घाइते हुनेको संख्या बढी रहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

घाईते मध्ये २० जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ भने गम्भीर चार जनालाई हेलिकप्टर मार्फत पोखरा नै लगिएको छ ।

अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

साघुँरो बाटोमा तीब्र गतिका कारण बस सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।