आँबुखैरेनी, २ माघ । आँबुखैरेनी गाउँपालिकाबाट पहिलो सहकारीको रुपमा दर्ता भएको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । १ सय २० जना शेयर सदस्य रहेको आँबुखैरेनी–३, हङकङ बजारको तेस्रो तल्लामा अवस्थित सो सहकारीको एक समारोहकाबीच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अध्यागमन विभागकी अधिकृत तथा आँबुखैरेनी गाउँपालिकाकी पूर्व प्रमुख प्रशासकिय अधिकृत दुर्गा थापाले संयुक्र रुपमा उद्घाटन गर्नुभएको हो ।
राज्य पुनर्सरचना भई संघियतापछि सहकारी स्थापनाको नयाँ प्रक्रिया अनुसार सहकारी ऐन २०७४ बमोजिम २०७५ भाद्र २९ गते आँबुखैरेनी गाउँपालिकाबाट पहिलो सहकारीको रुपमा दर्ता भएर २०७५ मंसिर २ गतेबाट सामान्य कारोबार संचालन गरेको सहकारीको उद्घाटन गरी आजबाट औपचारिक रुपमा कारोबार संचालन गरेको सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । सहकारीको शेयरपूँजी रु. २ करोड ४ लाख, पौष मसान्त सम्मको बचत रु.४१ लाख ६२ हजार ५६ रुपैंया रहेको र कर्जा शिर्षकमा ५९ लाख ९६ हजार ९ सय ५० रुपैया ऋण लगानी गरेको सहकारी अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । यस्तै, सहकारीले छिट्टै नै व्यापारीहरुलाई लक्षित गरेर सन्ध्याकालिन काउण्टर संचालन गर्ने सहकारीका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
सहकारी उद्घाटन समारोहमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अध्यागमन विभागकी अधिकृत तथा आँबुखैरेनी गाउँपालिकाकी पूर्व प्रमुख प्रशासकिय अधिकृत दुर्गा थापा, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीका अध्यक्ष कृष्णमान तामाङ्ग, माई मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव उपेन्द्र देवकोटा, रामशाह टोल सुधार समितीका अध्यक्ष मिन बहादुर गुरुङ्ग लगाएतकाले बोलेका थिए । यसैबीच, सहकारीको प्रारम्भिक सभाले रत्नकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा रेजिना श्रेष्ठ, सचिवमा प्रेमकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश अधिकारी र सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ , तनकुमार श्रेष्ठ र प्रसाद श्रेष्ठ रहेका छन् । यसैगरी, बरिष्ठ सल्लाहकारमा राजकुमार श्रेष्ठ, लेखा समितिको संयोजकमा कृष्णमान तामाङ, सदस्यहरुमा सिता भट्टराई बराल, मनोज श्रेष्ठ, शिक्षा समितिको संयोजकमा तन कुमार श्रेष्ठ, सदस्यमा निरोज श्रेष्ठ, लिला कुमारी गुरुङ र ऋण समितिको संयोजकमा प्रकाश अधिकारी, सदस्यमा पंकज चितौरे मगर, राजेन्द्र कुमार श्रेष्ठ चयन भएको सहकारीले जनाएको छ ।