राम बहादुर धामी
आँबुखैरेनी, २ माघ । आँबुखैरेनीका मगर समुदायले मंगलबार मगर जातीको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड माघे संक्रान्ति धुमधामका साथ मनाएका छन् । नेपाल मगर संघ आँबुखैरेनी गाउँ समितीले आँबुखैरेनी–३, शिवालय मन्दिर अगाडी बिबिध सांस्कृतिक तथा खेलकूद कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति पर्व धुमधामका साथ मनाएका हुन् ।
समितीका अध्यक्ष कमल बहादुर मगरको सभातित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको समितीका सचिव ईश्वर बहादुर रानाले जानकारी दिनुभएको छ । कार्यक्रममा, मगर समुदायका दाजुभाई तथा दिदी बहीनीहरुले आ–आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर चुड्का नृत्य, कौरा नृत्य तथा अन्य बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी, सो अवसरमा समितीले विगतका वर्ष झैं यस बर्ष पनि भाले झिक्ने, डोरी तान्ने, छेलो हान्ने खेलकूदका कार्यक्रमहरु संचालन गरेको थियो । यस्तै, कार्यक्रम स्थलमा २ वटा स्टल नै राखेर मगर समुदायको खानाका परिकारहरु खिचडी, बंगुरको मासु, तरुल, साँदेको गुन्द्रुक, सेलरोट, बटुक राखिएको थियो । सो कार्यक्रमको संचालन ईश्वर रानामगर, बिशाल थापा र पूर्णिमा थापाले गर्नुभएको थियो ।