इलाम, ३० पुस । विगत ६ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले इलाममा सोमबार जुलुस निकालेका छन् ।‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारबाही गर, विधिको शासनको विरोध गर्ने होसियार’जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए ।
विद्यार्थीले अनसनरत डाक्टर केसीको मागको विरोध गरेका थिए । उनीहरुले अर्का अनसनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले नागरिकका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनसनस्थलबाट सुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो ।
सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गर्नुभएको थियो ।
उहाँले डाक्टर केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहट’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गर्नुभएको थियो । यस्तै सभामा सम्बोधन गर्दै अर्का विद्यार्थी इश्वरी तामाङले सबै नागरिकका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताउनुभएको थियो ।उहाँले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिनुभयो ।