राम बहादुर धामी
आँबुखैरेनी, २१ पौष । तनहुँको आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनीले आज पत्रकार सम्मलेन मार्फत यही माघ १७ गते देखि माघ २७ गते सम्म आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ गर्न लागेको जानकारी दिएको हो ।
“अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मूल नाराका साथ आँबुखैरेनी–३, मिलनचोक सैबोटेमा सो महोत्सव संचालन गर्न लागिएको नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनीका अध्यक्ष तथा महोत्सव मूल समारोह समितीका संयोजक रेशम भूजेलले जानकारी दिनुभएको छ । आँबुखैरेनी गाउँपालिकाको ६ वटै वडामा कूल जनसंख्याको ७० प्रतिशत आदिवासी जनजाति समुदायहरु रहेको र यस क्षेत्रका ती समुदायहरुको भाषा, संस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पु¥याउने उद्देश्य तथा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्व्य परिषदको भवन निर्माणको लागि महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक रेशम भूजेलले बताउनुभएको छ ।
२० वटा कृषि तथा घरेलु उत्पादनको स्टल र १ सय ८० वटा व्यापारीक स्टल गरी २ सय वटा स्टल रहने आदिवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवको मुख्य आकर्षणहरु रहने नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनीका सचिव तथा महोत्सवका प्रवक्ता मिलन भूजेलले बताउनुभएको छ ।
यसैगरी, आज नै आँबुखैरेनी–३, मिलनचोकमा महोत्सव सफल र भव्य तरिकाले सम्पन्न गर्न, गराउनका लागि सम्पर्क सचिवालय कार्यालयको स्थापना गरिएको छ । सम्पर्क सचिवालय कार्यालयको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले उद्घाटन गर्नुभएको हो ।