काठमाडौँ, १९ पुस । सशस्त्र प्रहरी बलका पूर्व एआइजी ऋषभदेव भट्टराई भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतले बिहीबार भट्टराईलाई दोषी ठहर गरेको हो।
भट्टराईले सशस्त्र प्रहरीमा काम गर्दा १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत देखाउन नसकेपछि उनलाई विशेषले भ्रष्टाचारी ठहर गर्दै नौ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको विषेश अदालतका रजिष्ट्रार भिम श्रेष्ठले जानकारी दिए।
विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको सयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो।
भट्टराई विरुद्ध अख्तियारले १ करोड ९१ लाख ९६ हजार ३६ हजार ८ सय ८१ रुपैयाँ ४५ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै २०७३ मंसिर ८ अख्तियारले मुद्दा दायर गरेको थियो।
भट्टराईको कुल सम्पत्ति ३ करोड १७ लाख ६७ हजार भएको र त्यसमध्ये १ करोड २६ लाख ३० हजार २ सय ४९ रुपैयाँको मात्र स्रोत खुलेको विषेश अदालतको ठहर छ। भट्टराई हाल नयाँ शक्ति नेपाल पाटीमा रहेर राजनीति गर्दै आएका छन्।