काठमाडौँ,१९ पुस । सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्।

शपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए। शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले खादा लगाइदिएका थिए।बिहीबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको भए पनि चौधरी आउन ढिला हुने र संसद् मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथ कार्यक्रम सारिएको थियो।

राष्ट्रिय जनता पार्टीले चौधरीलाई शपथ दिलाउनेलगायतका आफ्ना मागहरु पूरा नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारले उनको शपथको व्यवस्था मिलाएको हो।

रेशम चौधरी शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सर्‍यो
उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन्। राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए।

चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह ९गरिमा०ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो। उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो।

उनले चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए। न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।