दमौली, १८ पुस । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् ।सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिनुभयो । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । “भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका छन्,” उहाँले भन्नुभयो ।
यहाँ आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए । “नेपालीमा घुम्ने संस्कृतिको विकास हुँदै गएको छ,” गुरुङले भन्नुभयो । जाडो मौसमसँगै यतिबेला बन्दीपुरमा पर्यटकको ओइरो लागेको छ । दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने गरेका छन् ।
क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधान बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिकस्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको बताउनुहुन्छ । बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्ने प्रधान बताउनुहुन्छ ।
बन्दीपुरमा ढुङ्गाले छापेको बाटोमा सवारीसाधन गुडाउन निषेध गरिएको छ । पुराना घर भएकाले पनि बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । “परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको छ,” स्थानीयवासी राजु बानियाँले भन्नुभयो । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेका छन् । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस