चितवन, १६ पुस । इच्छाकामना गाउँपालिकाको फिस्लिङदेखि कालिका नगरपालिकाको शक्तिखोर जोड्ने सडकको शिलान्यास गरिएको छ । ३७ किलोमिटर लामो फिस्लिङ–शक्तिखोर सडक निर्माणका लागी सांसद कृष्णभक्त पोखरेलले सोमबार शक्तिखोरमा शिलान्यास गर्नुभएको हो ।

सडक शिलान्यास पश्चात बोल्दै सांसद पोखरेलले फिस्लिङ शक्तिखोर सडक निर्माण भएपछि काठमाडौं जान आउन सहज हुने बताउनुभयो । शक्तिखोर नयां पुल्चोकका रुपमा रुपमा विकास हुने भन्दै पोखरेलले यहांको पर्यटन विकासका लागी पहाडी भेगमा एकिकृत बस्तिको विकास गरिने बताउनुभयो ।

फिस्लिङ–शक्तिखोर सडक निर्माणका लागी सान्जी आशिष जेभिले भ्याट बाहेक ६९ करोड ८७ लाख ७६ हजार ४ सय रुपैंयामा ठेक्का पाएको हो । सडक निर्माण लागत भ्याट सहित ७८ करोड ९६ लाख १७ हजार ३ सय रुपैंया हुन आउंछ । एक मिटरको नाला छाडेर ३ दशमलव २५ मिटर चौडाई कालोपत्रे हुने शक्तिखोर फिस्लिङ सडकलाइ ५ मिटरको बनाउन प्रस्ताव आएको भन्दै सान्जी आशिष जेभिका म्यानेजर नारायण रिजालले योजनाको रिभ्यु भएपछि लागत पनि बढ्ने जानकारी दिनुभयो । सम्झौता अनुसार फिस्लिङदेखि ९ किलोमिटर यता तोलाङदेखि शक्तिखोर सम्मको ३७ किलोमिटर मात्रै सडक निर्माण हुने भनिएपनि रिभ्यु पछि ९ किलोमिटर थप भई फिस्लिङ देखि नै जम्मा ४७ किलोमिटर सडक निर्माण थालिने उहाँको भनाइ छ । २ बर्षमा योजना सम्पन्न गर्ने सम्झौता भएको छ । सडकले फिस्लिङ, तोलाङ, वासपुर, वोर्लाङ, मायाटार, तेर्से, उपरदाङगढी हुदै शक्तिखोर सम्म जोड्नेछ । । प्रदेश नं। ३ का सांसद घनश्याम दाहालले पहाड र तराई जोड्नका लागी सडक महत्वपुर्ण रहने बताउनुभयो । इच्छाकामना मन्दिर मर्मतका लागी प्रदेश सरकारले ५० लाख रुपैंया बजेट विनियोजन भएको जानकारी दिंदै दाहालले मायाटारदेखि माझकाउले सम्म बाटो निर्माणका लागी पनि ५० लाख रुपैंया विनियोजित भइसकेको बताउनुभयो ।