भरतपुर,१० पुष । समय नाकाबन्दीको थियो । अवैधरुपमा चितवनमा डिजल, पेट्रोल भित्रिएको थियो । नाकाबन्दीको समयमा अवैधरुपमा भित्रिएको ५० ड्रम अर्थात् झन्डै १० हजार लिटर डिजल ०७२ फागुन २३ गते चितवन प्रहरीले भरतपुर १ रामनगरबाट बरामद ग¥यो ।
कालोबजार गर्ने उद्देश्यले अवैधरुपमा ओसारपसार गरेको भन्दै ना ४ ख ५५९४ नम्बरको ट्रकसहित चालक र २ जना सहयोगी पक्राउ परे । पक्राउ परेका नवलपरासी प्रतापपुरका पारसनाथ चौधरी, अशोक चौधरी र सतिश हरिजनविरूद्ध प्रहरीले कालोबजारी मुद्दा पनि चलायो । जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई जनही ६० हजार धरौटीमा छाडिदियो । तर, उनीहरुको साथबाट बरामद गरिएको झन्डै १० हजार लिटर डिजल भने उडेरै सकियो । हालको बजार मूल्यअनुसार उक्त परिमाणको ९ लाख ७० हजार रूपैयाँ पर्छ । आजको चितवनपोष्टमा दिपेन्द्र अधिकारीले खबर लेख्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा रहेको ड्रममा अहिले रहेको तेल प्रयोग गर्न उपयुक्त छैन । रहेको अलिअलि तेल चुनावका बेलामा प्रयोग भएको तर अहिले प्रयोग गर्न योग्य नरहेको स्वयं प्रहरीहरु नै बताउँछन् ।
चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले उक्त डिजलको विषयमा अहिले पनि मुद्दा चलिरहेकोले केही नगरिएको बताए ।
अवैधरुपमा ओसारपसार गरेको भन्दै चितवन प्रहरीले तत्कालीन समयमा १५ हजार लिटर डिजल, २५ सय लिटर पेट्रोल, ४ लिटर मट्टीतेल, २० हजार लिटर हवाई इन्धन, ३१ वटा सिलिन्डर ग्यास बरामद गरेको थियो ।
कालोबजारसम्बन्धी २५ वटा मुद्दा दर्ता भएकोमा सबै फस्र्योट भएको छ । ३७ जना अभियुक्त रहेकोमा ३४ जना पक्राउ परेका थिए ।