चितवन, ९ पुष । नेपालमा आयात गरिने कपडाजन्य वस्तुमा सरकारले पाँच प्रतिशत मात्रै भन्सार लगाउनु पर्ने व्यवसायीहरुले माग गरेका छन् ।

नेपाल आयात हुने कपडाजन्य वस्तुमा सरकारले विभिन्न कर जोडेर अहिले ३५ प्रतिशतसम्म भन्सार लगाएको उल्लेख गर्दै भारतमा भन्दा नेपालमा कपडाको मूल्यमा धेरै अन्तर पर्ने गरेको बताए । सरकारले कपडामा पाँच प्रतिशत मात्रै कर लगाउने हो भने विद्यमान न्यून विजकीकरणको समस्या समेत समाधान हुने व्यवसायीहरुले बताएका छन् । सोमबार चितवनको नारायणगढमा आयोजना गरिएको कपडा व्यवसायी संघको साधारणसभा एवम् अधिवेशनका क्रममा व्यवसायीहरुले खुला सिमानाका कारण समेत व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको गुनासो गरे ।

कपडा व्यवसायी संघ चितवनका अध्यक्ष टुङनाथ भट्टराईका अनुसार खुला सिमाना हुँदा भारतीय सिमावर्ती बजारमा गएर केही व्यापारीले सामान ल्याएर कपडा बिक्री गर्दा सरकारलाई राजश्वमा समेत प्रभाव परेको छ । गाउँ घरमा घुम्दै कपडा बेच्ने घुमन्ते व्यापारीहरुले राजश्व छली गरिरहेको उल्लेख गर्दै भट्टराईले खुला सिमानामा कडाई गर्नुपर्ने बताए । २१ औँ वार्षिकोत्सवको उद्घाटनका अवसरमा महासचिव गुणराज पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष निरजकुमार श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कल्याण जोशी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमलगायतले मन्तव्य राखेका थिए । टुङनाथ भट्टराईको अध्यक्षामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

यसैबीच, सोमबार नै सम्पन्न कपडा व्यवसायीहरुको ११ औँ अधिवेशनले लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विधानले १५ सदस्यीय कार्यसमिति हुने उल्लेख गरेको जनाउँदै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नयाँ कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनीत गर्ने बताए । कपडा व्यवसायी संघ चितवनको प्रथम उपाध्यक्षमा गोकुल प्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा गुणराज पौडेल, महासचिवमा निरजकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द सिवाकोटी र सचिवमा राजाराम सिटौला सर्वसम्मत चयन भएका छन् ।