कुरिनटार,२७ मंसिर । वे ग्रुप र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नेतृत्वमा बिहीबार २०० भन्दा बढी सार्वजनिक सवारीसाधनमा स्टिकर लगाइएको छ । सडकमा फोहोर बढ्दै गएको भन्दै वे ग्रुपले केही हप्ताअघिदेखि ट्राफिक प्रहरी कार्यालय र सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरेर सवारीसाधनमा जथाभावी फोहोर नगर्न निर्देशित स्टिकर लगाउने अभियान चलाएका हुन् । बिहीबार राजधानी भित्रिने र बाहिरिने सार्वजनिक सवारीसाधनमा स्टिकर लगाउने र डस्टिविन राखिएको वे ग्रुपका सदस्य भोजनारायण कँडेलले जानकारी दिए ।

चितवन जिल्लालाई नै पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने उद्देश्यले यो अभियान चलाइएको उनले बताए । यो अभियानलाई देशव्यापी बनाउने लक्ष्यसहित काम गर्दै आएको उनको भनाइ छ । ‘सार्वजनिक सवारी साधनबाट अधिकतम फोहोर सडकमा आउने हुँदा त्यसैलाई कम गर्नको लागि हामीले अभियान चलाएका हौँ,’ उनले भने, ‘यसलाई यात्रु र बसका कर्मचारीले पालना गरिदियो भने अबको दुई वर्षमा जिल्लालाई सरसफाइयुक्त घोषणा गर्न सकिन्छ ।’ सार्वजनिक स्थल वरिपरि सरसफाइ गर्न सके अन्य ठाउँमा सरसफाइ गर्न समस्या नहुने हुँदा सार्वजनिक सवारीसाधनबाट सरसफाइको अभियान चलाइएको वे ग्रुपका सदस्य बिजय सापकोटाले बताए । ‘सबै सवारीसाधनका चालक तथा यात्रुहरूलाई सचेतनाको लागि गाडीमा फोहोर फाल्ने डस्टविन राख्ने र गाडीमै स्टिकर टाँस्ने काम गरेका छौँ,’ उनले भने, ‘सवारीभित्रै उत्पादन भएका फोहोरको व्यवस्थापन पनि सवारीले नै गर्नुपर्छ भन्ने हाम्रो चाहना हो ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले सबै सार्वजनिक सवारीसाधनले यात्रुबाट निस्कने फोहोरको व्यवस्थापन आफैँले गर्नुपर्ने बताए ।

त्यसको लागि अबदेखि हरेक दिन अनुगमन गर्दै जाने उनले बताए । अटेर गर्ने सवारीसाधनलाई कारवाही गर्ने उनले चेतावनी दिए । हरेक ट्राफिक पोष्टमा कार्यरत प्रहरीले सार्वजनिक सवारीसाधनमा डस्टविन राखे नराखेको बारेमा अनुगमन गर्नसमेत निर्देशन दिइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । सवारी चालक, सहचालक र यात्रुलाई समेत सरसफाइमा ध्यान दिन आग्रह गरिएको उनको भनाइ छ ।