मंसिर,१७ चितवन । चितवनको भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाबीच सीमा विवाद चर्किएको छ । भरतपुर महानगरपालिकाको वडा नं. ११ को सिमाना र इच्छाकामना गाउँपालिका वडा नं. ७ को खगेरी खोला सिमानाका विषयमा विवाद भएको हो ।
इच्छाकामना गाउँपालिकाले धमिले खोला छेउमा ल्याएर ‘इच्छाकामना गाउँपालिकामा स्वागत छ’ भन्ने बोर्ड राखेको छ । बोर्ड राखेको धेरै समय भएपनि महानगरले खासै वास्ता गरेको थिएन । तर, खगेरी खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने गरी गाउँपालिकाले टेण्डर गरेपछि महानगरले सीमानाको कुरा झिकेको हो ।
महानगरले यही खोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने योजना बनाएको थियो । गाउँपालिकाले पनि वार्षिक ३५ हजार ४ सय ८३ घनमिटर ढुंगा, गिट्टी, बालुवा निकाल्न भ्याटबाहेक ७५ लाख १७ हजार ४ सय ८१ रुपैयाँमा टेण्डर निकालेको छ ।
महानगरले हेप्योः इच्छाकामना गाउँपालिका
अहिले इच्छाकामना गाउँपालिकाले सीमा भनेर राखेको बोर्डबाट पाँच किलोमिटरभित्र भरतपुर महानगरपालिकाले आफ्नो सीमा भएको दावी गरेको छ । खगेरी खोलामा सीमा भएको र त्यसमा पनि महानगरको दाबी छ ।
त्यसो त इच्छाकामना गाउँपालिका वडा नं. ७ को वडा कार्यालय, विद्यालय भवन, सामुदायिक भवन, चर्च, बर्थिङ सेन्टरसहित करिब १५० घर भरतपुर महानगरपालिकामा पर्ने देखिन्छ । हाल इच्छाकामनामा रहेका सामुदायिक वनहरु सोमरी, पिपलटार, रानीखोला पनि महानगरपालिकामा नै पर्ने देखिन्छ ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरको सीमा खगेरीखोला र त्यसभन्दा पनि अझै उता हुने बताए । गाउँपालिकाले धमिले खोलामा राखेको पोष्ट हटाउनुपर्ने दावी उनको छ । जीपीएस लगायत अन्य ऐतिहासिक तथ्यहरुले हेर्दा भरतपुर महानगरको सीमा अहिले गाउँपालिकाले भनेको स्थानबाट ७ किलोमिटरभित्र पर्ने सुवेदीको दाबी छ ।
इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बमबहादुर रानाले गरिब, पिछडा, शक्तिहिन, न्यून चेतना भएका चेपाङ, तामाङ र गुरुङ देखेर महानगरले हेपेको आरोप लगाए । उनले आक्रोश व्यक्त गर्दै भने, ‘मेरो वडा कार्यालय, मलाई मत दिने जनता, मेरा जनताले संरक्षण गरेको सामुदायिक वन क्षेत्र कसरी भरतपुर महानगरपालिकाको हुन सक्छ, शक्ति र पहुँच छ भन्दैमा जे मन लाग्छ त्यही गर्ने हेप्ने ?’
भरतपुर महानगरका २/४ जना कर्मचारीहरुले ढुंगा, गिट्टी, बालुवामा आँखा लगाएकाले अनावश्यक विवाद झिकिएको आरोप उनको छ ।
विगतमा साविक दाहाखानी गाविस यहाँ पर्दथ्यो । दाहाखानी गाविसकै बजेटबाट बाटो र पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताइन् ।
२०३८ सालतिर कविलास, पुरानो उपरदाङगढी, जुटपानी गाउँपञ्चायतका केही वडा मिलाएर दाहाखानी गाविस कायम गरिएको थियो । सो समयमा नै कविलास गाउँपञ्चायतका भूभाग दाहाखानीमा नक्सांकन नभएको साविक जिल्ला विकास समितिमा इन्जिनियर माधव उप्रेतीले बताए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले खगेरीखोलालाई सीमा मानेर अघि बढ्नुपर्ने बताए । इच्छाकामना गाउँपालिकाका राजनीतिक अगुवा नारायण अधिकारीले इच्छाकामना गाउँपालिका वडा नं. ७ का प्राकृतिक स्रोतसाधन माथि महानगरले आँखा लगाएकाले यो समस्या आएको बताए । ‘हिजो संरक्षण र विकास त्यहाँका स्थानीयले गर्ने अहिले महानगरले हाम्रो हो भन्ने ?’ अधिकारीले भने, ‘महानगरका कर्मचारीहरुले जनप्रतिनिधि उचालेका छन् ।’
सीमा विवाद भएपछि समन्वय समितिले दुवै स्थानीय तहका प्रमुख र वडाध्यक्षहरुलाई राखेर सहमति गराउने प्रयास गरेको थियो । तर, अझै सहमति भएको छैन । छलफलमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित वडाध्यक्षहरु थिए भने, महानगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिपिएस हेर्ने इन्जिनियरहरु सहभागी थिए ।अनलाईनखबरबाट