हिरालाल गुरुङ
कुरिनटार,१२ कात्तिक । मनकामना केबलकारमा तीन वटा नयाँ डब्बा (गन्डोला) थप गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले मनकामना केबलकारमा थप गरिएको तीन वटा (गन्डोला) डब्बाको उद्घाटन गर्नुभएकोहो ।
उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटनका लागि नेपाल महत्वपूर्ण थलो भएकाले यसको विकासका लागि सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो“ नेपाल यस्तो देश हो जहाँ मेची देखि माहाकाली, हिमाल देखि पहाड सम्म कुनै न कुनै पर्यटकीय गन्तव्य स्थलहरु छन् , पर्यटनको विकासका लागि सरकार प्रतिवद्ध छ । ”
साथै मन्त्री अधिकारीले केबलकारले यस्ता पर्यटक क्षेत्रहरुलाई नजिक बनाईदिएको बताउनुभयो । उहाँले मनकामना मन्दिर जान चाहने दर्शनार्थीहरु टाढैबाट नमस्कार गर्नु पर्ने अवस्थाको मात्र अन्त्य गरेको नभई नेपालमै पहिलो पटक नयाँ प्रोडक्ट दिन सफल भएको भन्दै मनकामना दर्शन प्रालिलाई बधाई दिनुभयो । उहाँले संस्थापक अध्यक्ष स्वर्गिय लक्ष्मण बाबुको योगदानको चर्चा पनि गुर्नभएको थियो ।
मन्त्री अधिकारीले मनकामना मन्दिरको पुननिर्माण सकिएको बताउँदै त्यसका लागि सरकारले ४ करोड उपलव्ध गराएको बताउनुभयो । उहाँले यो क्षेत्रको पर्यटन विकासका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
उहाले सरकारले ४ करोड दिदाँ मात्र पनि मनकामना मन्दिर सहज ढंगबाट पुर्ननिर्माण सम्पन्न भएको भन्दै यसबाट शिक्षा लिनु पर्ने बताउनुभयो । पर्यटनमन्त्री अधिकारीले मुलुकमा पर्यटकहरुको ३० प्रतिशतले बृद्धि भएको समेत बताउँदै त्यसमा आन्तारिक पर्यटकको योगदान पनि राम्रो रहेको बताए ।
कार्यक्रममा मनकामना दर्शन प्रालिका अध्यक्ष राजेशबाबु श्रेष्ठले अहिले बार्षिक १० लाख दर्शनार्थी तथा पर्यटकहरुलाई सेवा दिईरहेको बताउनुभयो ।
२०५५ साल मंसिर ८ गतेबाट ३१ वटा डिब्बाबाट सुरुवात गरेको केबलकारमा अत्याधिक पर्यटहरुको चापले गर्दा २० बर्षपछि तीन ओटा डब्बा (गन्डोला) थप गरिएको बताउनुभयो
तीन डिब्बा थप गरेपछि दैनिक ८ घण्टा संचालन गर्दा थप एक हजार यात्रुलाई सेवा दिन सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । बार्षिक १४ लाख दर्शनार्थी तथा पर्यटकलाई सेवा दिन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
मनकामना केबलकार सञ्चालनमा आएदेखि हालसम्ममा करिब १ करोड ३८ लाख १२ हजार ४ सय ८६ यात्रुहरुलाई सेवा दिईसकेको र करौडौ रुपैया आयकर भ्याट मार्फत सरकारलाई राजश्व तिरेर नेपाल सरकारको राजश्वमा उल्लेखनीय योगदान पु¥याउन सफल भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ र सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले शुभकामना मन्तव्य राखेका थिए ।