चितवन,८ कात्तिक । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।

राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ।

लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन्। तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन। ‘भोकाएको बेला सुरूमा त सरासर खाएँ’, नेपालीले भने, ‘थप खाना माग्दा किरै देखियो।’ यस्ता होटलले यात्रुको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रशासनले कारबाही गर्नुपर्ने उनले बताए। अन्नपूर्णपोष्टमा खबर छ।

खसीको भन्दै बाख्रीको मासु

रामनगरका होटलमा खसीको भन्दै बाख्रीको मासु बेच्ने गरेका स्वयं होटल सञ्चालकले स्वीकारे। कानुनअनुसार बाख्रीको बध गरेर मासु बेच्न पाइँदैन। रामनगरका होटलले भने खुलेआम खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने गरेका छन्। ‘भन्दा खसीको भनिए पनि बाख्रीको मासु नै बेच्ने गरेका छौं’, न्यू शिवशक्ति होटलका सञ्चालक भण्डारीले भने, ‘यहाँका सबै होटलमा बाख्रीकै मासु हुन्छ।’

प्रशासन कार्यालयले खसीको भन्दै बाख्रीको मासु बेच्नेलाई कारबाही गर्ने बताएको छ। ‘एक महिनाअघि भरतपुरको मालपोत चोकमा रहेको मिराज मिट सप्लायर्स र अर्मान मिट सप्लायर्सलाई कारबाही गरेका थियौं’, चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘होटलमा खसीको भन्दै बाख्रीको मासु पुर्याएर बेच्ने र होटल सञ्चालकलाई पनि हामी कारबाहीको दायरामा ल्याउनेछौं।’खाद्य पदार्थ झुक्याएर बेच्नेलाई कालोबजारी ऐनअन्तर्गत जरिवाना र जेल सजायसमेत हुने कानुनी प्रावधान रहेको उनले बताए।