शिशिर सिंखडा
चितवन, ६ कार्तिक । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ रेडक्रसग्राम चौरमा हुने प्रथम सगुन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही कार्तिक ८ गतेबाट १९ गतेसम्म संचालन हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुल समारोह समितिका संयोजक केशव लामाले जानकारी दिए ।

“कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइने छ । स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा हुने महोत्सवमा करिव १ सय ५० स्टल रहने छन् । कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक लामाले बताए । नगरको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अतिरिक्त विभिन्न जातजातीको भेषभुषा, रहनसहनको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा यस क्षेत्रको पर्यटकीय स्थल सिन्ती झरना रहेको छ । महोत्सव स्थलमा नै सिन्ती झरनाको स्वरुप झल्काउने पानी बगेको झरना निर्माण कार्य भइरहेको छ । सिन्ती झरनाको प्रतिमूर्ति स्वरुप सो झरना बनाइएको मुल समारोह समितिका सह–संयोजक एवम् आयोजक संस्था सगुन विकास समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले जानकारी दिए । सिन्ती झरनाका अतिरिक्त महोत्सव स्थलमा नगरभित्रका विभिन्न पर्यटकीय क्षेत्रको दृष्य मार्फत् समेत जानकारी गराइने योजना रहेको उनले बताए । अहिले महोत्सव परिसरमा ढुङ्गाद्वारा निर्मित झरनाको प्रतिमूर्ति बनाउने काम भइरहेको छ ।

करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ । कार्यक्रममा पशुपति शर्मा, रामजी खाँड, भोजराज काफ्ले, नेत्रजी पन्त, ज्योती मगर लगायतका कलाकारहरुको हरेक दिन फरक प्रस्तुती रहने मुल समारोह समितिका सदस्य श्यामकृष्ण बजगाईले जानकारी दिए । महोत्सवबाट करिव १० लाख रुपैया बचत हुने अनुमान गरिएको र महोत्सवमा प्रवेशको लागि रु. ५० को टिकट शुल्क कायम गरिएको छ । यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य समेत रहेको छ ।