हेटौंडा, २२ असोज । प्रदेश नम्बर–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ ।सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस गरिएको हो ।
समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत् गरेका थिए ।उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएका विभिन्न जिल्लाका जिल्लागत विवेचना र विश्लेषण राखिएको जानकारी दिए ।
राजधानीको विषयमा देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।समितिले काभ्रे, भक्तपुर, चितवन, नुवाकोट र मकवानपुर गरी पाँचमध्ये एक जिल्लालाई राजधानी तोक्न उपयुक्त हुने सुझाव दिएको छ ।
उता, हेटौंडालाई नै प्रदेश–३ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै जन सरोकार केन्द्रले सोमबारै संसद सचिवालयअगाडि धर्ना दिएको छ ।