काठमाडौं,२१ असोज । मलेसियामा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। नेपालले आइतबार भएको आफ्नो तेस्रो खेलमा थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो।
नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८।५ ओभरमा १८ रन जोड्दा ९ विकेट गुमाएको थियो। जितबाट नेपाल १ विकेट टाढा हुँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल सम्भव नहुँदा नेपाल डिएल मेथडमा विजयी भयो।
थाइल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। उनले आठौं ओभरमा ३ विकेट लिएका थिए। सन्दीपले ३ ओभरमा १ मेडनसहित ८ रन मात्र खर्चिए। करण केसीले पनि नवौं ओभरको चौथो र पाँचौ बलमा विकेट लिएका थिए। उनले १.५ ओभर बलिङ गर्दै ३ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे।
थाइल्यान्डका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। जसमा ५ ब्याट्सम्यान शून्य रनमा आउट भए।
त्यसअघि मलेसियाको बायुमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो। नेपालका लागि करण केसीले नटआउट ४० रन जोडे। उनले १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। करणले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपाल कामी ४ रनमा नटआउट रहे।
मध्यक्रमकका ब्याट्सम्यान शरद भेषवाकरले ३४ रन जोडे। उनले २८ बलमा २ चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले २६ बलमा ३० रन जोडे। उनले ३ चौका प्रहार गरे। आरिफ शेख ८ र कप्तान पारस खड्का ५ रनमै आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रनमै आउट भएका थिए।
ओपनर अनिलकुमार साहले २५ रन जोडे। उनले १७ बलमा ५ चौका प्रहार गरे। अर्का ओपरन विनोद भण्डारीले १८ बलमा २ चौका र १ छक्काको मद्दतले १५ रन बटुले।
बलिङमा थाइल्यान्डका पायथुस सनगार्डले ४ विकेट लिए। उनले शरद, दीपेन्द्र, पारस र आरिफलाई आफ्नो सिकार बनाएका थिए।
ब्याटिङ र बलिङमा योगदान दिएका करण केसी म्यान अफ दि म्याच भए।
यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा आयोजक मलेसियालाई समान ८–८ विकेटले पराजित गरेको थियो।
प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।