चितवन ३ भदौ । स्थानीय तहको निर्वाचन पछि रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिले गरेको न्याय सम्पादनको काम प्रभावकारी देखिएको छ । समितिमा परेको मुद्दाको इजलासबाटै मुद्दाको फैसला हुने गरेको छ । न्यायिक समितिले ९ महिनामा ३४ वटा मुद्धा फैसला गरेको छ । उपमेयर विमला दुवाडीको नेतृत्वमा रहेको समितिले श्रीमान श्रीमतिको विवाद,जग्गाको साधसिमान,अंशबण्डा लगायतका ३४ वटा मुद्धा मेलमिलापबाटै फैसला गरेको हो ।
नगर स्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको ३४ वटा मुद्धा न्यायिक समितिले फैसला गरेको हो । पार्वती न्यौपानेले नेतृत्व गरेको मेलमिलाप केन्द्रले भने आर्थिक बर्ष २०७४÷०७५ मा १५० वटा मुद्धा मेलमिलापबाटै टुङग्याएको छ । केन्द्रले मिलाउन नसेको मुद्धा न्यायिक समितिमा आउछ संयोजक दुवाडीले भनिन् हामीले ९० प्रतिशत मुद्धा मेलमिलापबाटै सामधान गर्ने गरेका छौं । सम्बन्ध विच्छेदका मुद्धा सकेसम्म मेलमिलाप गराउने र केहीसीप नलागे मात्र अदालत पठाउने गरिएको उनले बताइन । सम्बन्ध विच्छेद गराउन आएका श्रीमान श्रीमतिबीच पनि सहमति गराएर पठाएका छौं उनले भनिन यो हाम्रो ठुलो सफलता पनि हो । न्यायिक समितिमा मुद्धाको चाप बढन थालेपछि नगरपालिकाले इजालास बनाएर कार्य सम्पादन गर्न थालेको छ । इजलासमा दुबै पक्षलाई बोलाएर बहस गरेपछि मेलमिलाप गराउने गरिएको संयोजक दुवाडीले बताइन । न्यायिक समितिमा संयोजक दुवाडीसंगै सदस्यहरु प्रेमप्रसाद रेग्मी र वावुराम गौतम रहेका छन । रत्ननगरमा वडा स्तरमा पनि मेल मिलाप समिति गठन गरिएको छ । वडा स्तरमा मिलाउन नसकेको मुद्धा नगर स्तरमा रहेको केन्द्रमा आउने र सो केन्द्रले पनि मिलाउन नसकेमा न्यायिक समितिमा जाने व्यवस्था मिलाइएको छ । मेलमिलाप केन्द्रमा दैनिक ५ वटा मुद्धा पर्ने गरेको अध्यक्ष पार्वती न्यौपानेले बताइन । रत्ननगरमा मेलमिलाप केन्द्रले २०६० साल तथा न्यायिक समितिले २०७४ साल मंसिर महिनाबाट न्याय सम्पादनको काम सुरु गरेको हो ।