चितवन, २१ साउन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।
त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा खसेको पहिरो पनि पन्छाइएको छ । पहिरो पन्छाएपछि अवरुद्ध सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना ३ फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
यसैबीच धादिङको बेनीघाट रोराङ १० स्थित जवाङ खोलाको पहिरो हटाएपछि एतर्फी सडक संचालनमा आएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।