चितवन, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्देशनपछि कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्ने तयारी भइरहँदा नयाँ कानुनमन्त्री को बन्ला भन्ने चासो र चर्चा सुरु भएको छ ।नयाँ कानुनमन्त्रीमा चितवनका सांसद कृष्णभक्त पोखरेलसहित भानुभक्त ढकाल, पार्वत गुरुङ, प्रेमआले मगर र खगराज अधिकारीको नाम चर्चामा रहेको पार्टी स्रोतले बताएको छ । । विगतमा बार एशोसिएसन चितवनका अध्यक्ष, संविधान मस्यौदा समितिका सदस्य समेत भएर काम गरेका पोखरेल पार्टीभित्र कानुनको राम्रो ज्ञान र दख्खल भएका व्यक्ति हुन् । यसअघिका सरकारमा पनि उनी कानुनमन्त्री बन्ने चर्चा पटकपटक हुँदै आएको थियो ।गत आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता नै सुम्पनु परेको आफूले सुनेको धारणा राखेका थिए । सोहीकारण नेपाली विद्यार्थीहरूले विदेशमा गई पढ्नुपर्ने बाध्यता हटाउन नेपालमा नै ती पढाइ सहज हुनुपर्ने धारणा राखेका थिए ।