काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आजदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।हिजो डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आज (आइतबार) बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा.केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उहाँको माग पूरा गर्नुपर्ने बताए । अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए । डा.केसीको समर्थनमा विहिबारको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनिषा कोइरालालगायत उपस्थित भएका थिए ।
चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका हुन् । स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उहाँ शिक्षण अस्पतालमा २२ औँ दिनको अनशनमा हुनुहुन्छ । यो उहाँको १५ औँ पटकको अनशन हो । जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गर्नुभएको छ । यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको बताइएको छ ।