चितवन, २ बैशाख ।  नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार देखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । नयाँ वर्षको दिन शनिबार भने खुल्ला गरेको सडक आइतबार देखि पुनः दिउँसो बन्द गर्न लागिएको हो ।

आइतबारदेखि पुनः बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।

बिहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।

भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह पिच भइसकेको छ । दोस्रो तहमा भने २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ ।

सडक निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको छ ।