चितवन,६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय भरतपुरमा कार्यरत प्रमुख कर अधिकृत टीकाराम भुसालबिरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
अख्तियारले स्रोतले नखुलेको १ करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ विगो कायम गरी भ्रष्ट्राचार निवारण ऐन अनुसार मुद्दा दर्ता गरेको हो ।
अधिकृत भुसालले सार्वजनिक पदमा रहादा पदको दुरुपयोग गर्दै १ करोड ५८ लाख ६३ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
भूसालले सार्वजनिक पद धारण गरे पछि ०७२ माघ मसान्तसम्मको जााच अवधिका विभिन्न बर्षहरुमा आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल–अचल सम्पतिहरुमाथि छानविन गर्दा उक्त रकम बरारबरको सम्पतिको स्रोत नखुलेको अख्तियार स्रोतले जनाएको छ ।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफतसमेत गरी पाउन माग दाबी लिई फागुन ३० गते विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।