चितवन ५ चैत । चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो ।

सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिनासम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिएको छ । सरकारले सन् २०१७ सम्ममै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।रत्ननगर नगरपालिकाको साविकको पञ्चकन्या र रत्ननगर क्षेत्र, कालिका नगरपालिकाको साविकको पदमपुर र जुटपानी गाविस पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् । भरतपुर महानगरपालिकाका २९ मध्ये १४ वटा वडा पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेको प्रमुख झाले जानकारी दिनुभयो ।
पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिनामुनिका बालबालिकालाई दिइएको खोपको अनुगमन शुरु गरिएको हो ।

तेइस महिनामुनिका बालबालिकालाई दिनुपर्ने सबै खोप कसैलाई पनि नछुटाई लगाएको पाइएमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिन्छ ।पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुनका लागि बिसिजी, डिपिटी, पिसिभी र दादुरा–रुबेलाविरुद्धको खोपको मात्रा उक्त क्षेत्रका सबै बालबालिकाले पूरा रुपमा लगाएको हुनुपर्ने छ ।

कुनै पनि क्षेत्रलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरेरमात्र नहुने भन्दै झाले पूर्ण खोपलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो ।आउँदो वैशाखभित्रै चितवन पूर्ण खोपयुक्त जिल्ला हुनुपर्ने झाले बताउनुभयो । वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला भएन भने एक वर्षपछि धकेलिने बताउँदै उहाँले वैशाखभित्र चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुपर्ने बताउनुभयो ।

पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्नु अगाडि सर्वेक्षणदेखि घोषणा अनुमतिसम्मका १० चरण पूरा गर्नुपर्ने झाले बताउनुभयो । उहाँका अनुसार हालसम्म देशका ३५ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् । रासस