हेटौँडा, चैत २ । प्रदेश ३ का स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा तय गरिएको छ। बिहीबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको हो।
स्रोतका अनुसार बैठकले महानगरपालिकाका प्रमुखको तलब मासिक ४६ हजार, उपप्रमुखको ४० हजार २ सय र वडाध्यक्षको २८ हजार रुपैयाँ तय गरेको छ।
यस्तै उपमहानगरको प्रमुखको तलब ४० हजार २ सय, उपप्रमुखको ३५ हजार र वडाध्यक्षले २५ हजार रुपैयाँ तय गरिएको छ। नगरपालिकाका प्रमुखको ३५ हजार, उपप्रमुखको ३१ हजार र वडाध्यक्षको २२ हजार रुपैयाँ तलब तय गरिएको छ।
गाउँपालिकाका अध्यक्षको तलब ३१ हजार, उपाध्यक्षको २७ हजार र वडा अध्यक्षले २० हजार रुपैयाँ तय भएको छ। उनीहरूको अन्य सेवासुविधा समेत व्यवस्था गरिएको स्रोतले जनाएको छ। स्थानीय तहका पदाधिकारीको सेवा सुविधा संसदबाट पारित भएसँगै लागु हुने जनाइएको छ।
इच्छाखबर संवाददाता












