काठमाडौं, २० फागुन । संघीय संसदका सांसदहरुले निर्वाचन भएको तीन महिनापछि आज शपथ लिंदै छन् ।राष्ट्रियसभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसद्को सपथमा ढिलाई भएको हो ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का कूल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले आज शपथ लिने सम्भावना छ ।

सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित डा। युवराज खतिवडा, रामनारायण बिडारी र डा। विमला पौडेल राईको शपथग्रहण भने आज हुने छैन ।

फौजदारी अभियोग लागेका कैलाली–१ बाट प्रतिनिधिसभामा विजयी रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी पनि शपथमा आउने छैनन् । दुवै सभामा सांसदको शपथ ज्येष्ठ सदस्यले गराउने छन् ।

प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको ५ बजे आफ्नै सभाकक्षमा शपथ समारोह हुने छ । आफ्नै कारण अनुपस्थित रहने सांसदका हकमा शपथका लागि पछि निर्णय हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा सभामुख र राष्ट्रिय सभामा सभाध्यक्षको चयन नभएसम्म ज्येष्ठ सदस्यले नै संसद् बैठकको अध्यक्षता गर्ने छन् ।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा नेपाली कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ ।

यादव र भट्टले आजै १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम छ । त्यसपछि मात्रै उनीहरुले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

यसैबीच ४४ जना सांसदले आफ्नो मातृभामा शपथ लिने भएका छन् । संसद् सचिवालयले मागेअनुसार उनीहरुले शपथको बेहोरा मातृभामा अनुवाद गरी बुझाइसकेका छन् ।

ती सांसदले फरक–फरक मैथिली, भोजपुरी, थारु, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० मातृभामा शपथ लिने छन् ।

अन्य सांसदले भने नेपाली भाषमै शपथ लिने छन् ।