दिपक श्रेष्ठ
गोरखा,१९ फागुन । सहिद लखन गाउँपालिका वडा नम्बर ७ कोटगाँउका एकै परिवारका ३ जना अपांगता भएका परिवारलाई अपांगमैत्री घर निर्माणका लागि संकलित ९ लाख भन्दा बढि रकम आज हस्तान्तरण गरिएको छ । वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको अगुवाईमा संकलन भएको ९ लाख ७७ हजार ३ सय ८७ रुपैया चेक मार्फत आज पत्रकार सम्मेलन गरी हस्तान्तरण गरिएको हो ।

संकलित रकमबाट अपांग मैत्री घर निर्माणका लागि जग खन्ने तथा पिलर बनाउने काम शुरु भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सो रकम घरधनी धनबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । श्रेष्ठका २ छोरा जन्मजात अपांग भएपछि श्रेष्ठ परिवारमा समस्या हुदै आएको छ । वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा हाल मकाउ बस्दै आएका सहिद लखन गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका समाजसेवी बिष्णु श्रेष्ठ, वडा नम्बर ८ का अमृत श्रेष्ठ, वडा नम्बर ८ स्थायी घर भई हाल हंङकङ बस्दै आउनु भएका गोकुल खड्का, काठमाण्डौ बस्दै आएका उत्तरकुमार श्रेष्ठ, नमराज अम्गाई लगायतको पहलमा उक्त रकम संकलन गरिएको हो । वडाध्यक्ष श्रेष्ठले करिव ५/६ महिना देखि शुरुवात गर्नुभएको अभियानले अहिले सार्थक रुप लिएको बताउनु भयो । संकलित रकमबाट अहिले घर निर्माणका लागि जितु गूरुङको अध्यक्षतामा ५ सदस्सीय निर्माण समिति समेत गठन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनभुयो । घर निर्माणका लागि प्राविधिकहरुको सहयोगमा अपांगमैत्री हुने गरी डिजाइन गरिएको र करिव १५ लाख ५३ हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो “हामीले ९ ओटा पिलर र हात्ती पाइले बुनीसकेका छौ अब छिट्टै पिलर राख्ने काम गछौ ।” घर निर्माणका लागि नेपाली सेना, बिभिन्न क्लब तथा स्थानियहरुलाई श्रमदानका लागि आग्रह समेत गरिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

रकम हस्तान्तरण कार्यक्रममा सहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाई, समाजसेवी गणेशबाबु लम्साल, नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापा लगायतको सहभागिता रहेको थियो ।