काठमाडौँ,१८ माघ । रुपेन्दही युवा संघ अध्यक्ष दुर्गा तिवारी, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र व्यवसायी वसन्त पौडेलको हत्यापछि प्रहरीको सर्वाधिक खोजी सूचीमा परेका गुन्डा नाइके हुन् मनोज पुन।
३२ वर्षीय पुनले भारतमा बसेर आपराधिक गतिविधि संचालन गर्दै आएको प्रहरीको दावी छ। रुपन्देही लगायत राजधानीमा समेत पुनले व्यापारीलाई पैसा माग्ने, नदिए मार्ने धम्की दिने गरेका छन्।
मनोज पुन मात्र होइन, अहिले पुनको नाममा अरुले पनि आपराधिक गतिविधि संचालन गरेको खुल्न आएको छ। प्रहरीले भर्खरै पोखरामा पुनको नाममा आपराधिक धन्दा गर्नेलाई पक्राउ गरेको छ।
केही महिना अगाडि पोखराका बिन्दु थापा, कालु गुरुङ, बोधराज गिरी र मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नम्बरबाट मनोज पुन समूहको ब्यक्ति हुँ भन्दै कल आयो। फोनबाट नै उनीहरुले करोडौ फिरौती रकमसमेत मागे।
उनीहरुले बिन्दू थापालाई त तीन दिनभित्र पैसा बुझाउन अल्टिमेटमसमेत दिएका थिए। प्रहरीले उनीहरुलाई धम्की आएको सूचना पाएपछि अनुसन्धान शुरु गर्यो।
उनीहरुले जुन मोबाइलबाट फोन गरेका थिए, त्यो सिम अमृत खड्काको रहेको खुलेपछि उनको डेरा पहिचान गरी खानतलासी गर्दा रामु सुवेदी नामका पुरुष फेला परे।
सुवेदीलाई सोधपूछ गर्दा उनले र अमृत खड्काले पोखराको शान्ति वनबाटिकामा गई माघ १५ गते सो म्यासेज पठाएको देखियो।
केही समयपश्चात् कोठामा खाना खान अमृत खड्का आउँदै गरेको सूचना पनि प्रहरीले पायो। आउने बित्तिकै उनी पनि प्रहरीको फन्दामा पारे।
दुवैको बयानमा सम्पूर्ण योजनाकार शंकर भन्ने नरबहादुर गुरुङ रहेको खुल्यो।
प्रहरीले पोखरा लेखनाथ रामबजारस्थित भारतीय पेन्सन क्याम्प नजिकबाट उनलाई पनि पक्राउ गर्यो।