विनोद श्रेष्ठ
ईच्छाकामना चितवन, १२ माघ । चितवनको ईच्छाकामना १ थाप्राङ्गका चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठको टोलीले थाप्राङ्ग गाउँमा पुगेर न्यानो कपडा संगै खाद्यान्न सामाग्री वितरण गरेको हो ।

चितवन जिल्लाको अति विकटमा रहेको यस गाउका ७८ घरधुरीका करिब ३०० जनालाई कम्बल, ज्याकेट, जुत्ता तथा खाद्यान्न सामाग्री वितरण गरेको हो । संचारमाध्यमबाट उक्त गाउँका बालबालिका न्यानो कपडाको अभावका कारण बर्षेनि पोलिने गरेको खबर पढेपछि आफ्नो संस्थाले न्यानो कपडा र खाद्यान्न सामाग्री लिएर उक्त स्थान पुगेको आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताउनुभयो । उहाँले यस गाउँको चेपाङ बालबालिकाहरुको दयनिय अवस्था देख्दा निकै दुखी भएको बताउदै सरकारले उनीहरुको लागि विषेश राहातको व्यवस्था गर्नुपर्ने बताउनुभयो । संस्थाका सदस्यहरुबाट र विदेशमा बसेका नेपालीहरुबाट संकलित रकम र लत्ताकपडाहरु गरि करिब २ लाख ५० हजार बराबरको राहात सामाग्री वितरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सदरमुकामबाट करिब ३ घण्टाको मोटरबाटो हुदैँ सो गाउँमा पुग्न सकिने भएतापनि गरिबीका कारण चिसोमा बाट बच्न अगेनाको छेउमा बस्नुपर्ने बाध्य रहेको यहाँका स्थानीयहरु बताउछन् । कपडा नहुदाँ बच्चालाइ चिसोबाट जोगाउन अगेनाको छेउमा राख्दा आफ्नो बच्चा पोलिएको १२ सन्तानका बुबा श्याम चेपाङले बताउनुहुन्छ । यस गाउमा श्यामले जस्तै थुप्रै अभिभावकहरुले आफ्नो बच्चालाइ चिसो बाट जोगाउन खोज्दा बर्षेनी पोलिने गरेका छन् । यस्तो दयनिय अवस्था हुँदा समेत सरकारबाट कुनै पनि राहत नआएको अवस्थमा आँबुखैरेनी सेवा समाजले न्यानो कपडा वितरण गरेकोमा स्थानीयहरुले संस्थालाइ धन्यवाद व्यक्त गरेका थिए ।

थप्राङ जस्तै हाक्तिबाङको अवस्था पनि दयनिय रहेको हात्तिबाङ मा.वि.का प्र.अ. रमेश सुनार बताउनुहुन्छ । उक्त विद्यालयमा अध्ययनरत ९० प्रतिशत बालबालिकाहरु चिसोको कारण विद्यालय आउन नसकेको हुँदा कुनै दातृ सस्था भएमा खबर गरिदिनको लागि अनुरोध गरेका छन् ।