चितवन, ११ माघ । चितवन मेडिकल कलेज भरतपुरले एमबिबिएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा १२ लाख बढी लिने गरेको पाइएकोे छ । ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले थप शुल्क लिएको अनुगमनका क्रममा भेटिएको हो ।आजको नयाँपत्रिका दैनिकमा दिपेन्द्र अधिकारीले खबर लेख्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार गरेको अनुगमनमा कलेजले एमबिबिएस अध्ययनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजारबाहेक विभिन्न शीर्षकमा थप १२ लाख लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए ।
कलेज प्रशासनले भने शुल्क निर्धारण पत्रअनुसार नै शुल्क लिएको जनाएको छ । ट्युसन, लाइब्रेरी वा अन्य विभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकाले नयाँ विद्यार्थीसँग भर्ना हुने क्रममा ६ लाख र कक्षा सञ्चालन अवधिमा ६ लाख गरी १२ लाख लिने कलेजले निर्णय गरेको कलेज प्रशासनले जनाएको छ ।
आइओएमले केही शुल्क लिन पाउने भनेकाले सोही आधारमा शुल्क लिएको र त्यसबारे आइओएमलाई पनि जानकारी गराएको कलेज प्रशासनका अधिकारीहरूले बताए । सम्बन्धनप्राप्त कलेजहरूको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ । भर्ना भएका विद्यार्थीको नामावलीसहितको विवरण आइओएमले सम्बन्धित कलेजमा पठाउने व्यवस्था छ ।
कलेजले विभिन्न ११ संकायमा पठनपाठन गराउँदै आएको छ । कलेज छनोट गरेका विद्यार्थीले ७ माघभित्र अनलाइनबाट भर्ना गरिसक्नुपर्ने सूचित गरिएको थियो । त्यसका लागि सम्बन्धित कलेजको बैंक खातामा तोकिएको शुल्कको ५० प्रतिशत बुझाउनुपर्नेछ । समयावधिभित्र भर्ना नहुने विद्यार्थीले पुनः मौका नपाउने व्यवस्था आइओएमले गरेको छ ।
पूर्ण शुल्कका ८१ कोटा
८१ जनासँग पूर्ण शुल्क कोटामा भर्ना अधिकार पाएको चितवन मेडिकल कलेजमा केही दिनअघिसम्म जम्मा ६२ जना भर्ना भएका थिए । आइओएमका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजमा विद्यार्थीको कम रुचि भेटिएको थियो ।
आइओएमले यस वर्ष नेसनललाई ८१ र जानकीलाई ७२ सिट भर्ना कोटा दिएको छ । यो संख्या छात्रवृत्तिबाहेकको हो । यस्तै, भैरहवाको युनिभर्सल मेडिकल कलेजलाई ९०, ललितपुर ग्वार्काेको किस्ट मेडिकल कलेज, चितवन भरतपुरको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजलाई ८१ र ८१ सिट पूर्ण शुल्कको कोटा दिएको छ । नेपाली सेनाको कलेजले ९० सिट पाएको छ ।
आइओएमका अनुसार विद्यार्थीको पहिलो रोजाइमा त्रिवि शिक्षण कलेज महाराजगन्ज, दोस्रो नेपाली सेनाको कलेज, तेस्रो पोखराको गण्डकी मेडिकल कलेज, चौथो किस्ट र पाँचौँ युनिभर्सल परेको छ ।