चितवन माघ ४ । राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्ड आयोजनाको स्तरोन्नती कार्यलाई तीव्रता दिने भन्दै रातीको समयमा यातायात सञ्चालनमा रोक लगाएर काम अघि बढाइएपनि सो काम प्रभावकारी भने हुन सकेको छैन ।

सडक विस्तारको कामलाई तीव्रता दिन भन्दै गत पौष १८ गतेबाट रातको समयमा सवारी सञ्चालनमा रोक लगाई काम गरिदै आएको छ । रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाएसँगै दिउँसो घण्टौं जाममा बस्नुपर्ने बाध्यता सर्वसाधारणमा छ । प्रभावकारी ढङ्गले काम अघि बढाउन नसकेपछि आयोजनाले दिउँसो पनि सवारी सञ्चालनमा रोक लगाई कामलाई तीव्रता दिने गरी गृहकार्य थालेको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।

रातको समयमा ट्राफिक व्यवस्थापन थप कठिन भएकाले कामले गति लिन नसकेको बताउदै खनालले स्थानीय निकायसँग छलफल गरी केही दिनभित्रै सो समस्याको समाधान खोज्ने उल्लेख गर्नुभयो ।
हालसम्म आयोजना अन्तर्गतको ७१ दशमलव २ प्रतिशत काम सम्पन्न भएको खनालको दावी छ । पौष १८ देखि हिजोसम्मको कार्य प्रगति भने १ दशमलव ५ प्रतिशत मात्रै छ ।

भित्ता काटेर पर्खाल लगाउने काम ९० प्रतिशत र १४ दशमलव ७ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको खनालले बताउनुभयो ।

२ अर्ब ९० करोड कुल लगानीमा सम्पन्न गर्ने गरी सुरु सडक विस्तारका लागि हालसम्म २ अर्ब ६४ करोड ८० लाख खर्च भइसकेको छ । २ वर्षमा सम्पन्न गर्नेगरि सन् २०१५ मा सुरु गरिएको सो आयोजना निर्माणमा भईरहेको ढिलाईका कारण हजारौँ यात्रुले सास्ती खेप्दै आएका छन् ।