तनहुँ,२ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले तनहुँको आँबुखैरेनीबाट दुई जनालाई तीन थान लोपोन्मुख वन्यजन्तु ध्वाँसे चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको छ ।
सिआईबीका प्रहरी नायव निरीक्षक बिरेन्द्र जोहारीको नेतृत्वमा गएको टोलीले मंगलबार आबुखैरेनी गाउँपालिका ४ बाट उनीहरुलाई पक्राउ गरेको हो । सिआईबीले नुवाकोट सुनाखानीका २८ वर्षिय भीमबहादुर तामाङ र गोरखा सुलिकोटका ३५ वर्षिय ईतबहादुर घलेलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँका प्रहरी उपरीक्षक उमेश जोशीले पक्राउ परेका तामाङ र घलेबाट तीन वटा ध्वाँसे चितुवाको छाला र हड्डी बरामद गरिएको पुष्टि गरेका छन् । सिआईबीको टोलीले ओखेटोपहार ओसारपसारमा संलग्न तामाङ र घलेले प्रयोग गरेको बा १५ च ७४५६ नम्बरको रातो स्करपियो नियन्त्रणमा लिएको छ ।
सिआईबीले पक्राउ परेका दुबै जनालाई उनीहरुबाट बरामद छाला, आखेटोपहार र जिपसहित जिल्ला वन कार्यालय तनहुँको जिम्मा लगाएको छ । सिआईबीले यसअघि तीन दिनपहिले लमजुङ सदरमुकाम बेशीसहरबाट पनि एक थान ध्वाँसे चितुवाको छाला पक्राउ गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ अनुसार ध्वाँसे चितुवाको शिकार र यसको तस्करीमा संलग्न व्यक्तिलाई पाँच लाखदेखि १५ लाख रुपैयाँ जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।