काठमाडौँ,२७ पुस । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको केन्द्र परिवर्तन गरि कुरिनटार तोकिएको छ।यस अघि साविकको चण्डिभञ्ज्याङ गाविसको कार्यालय रहेको हालको वडा न ६ ढुंग्रेमा गाउँपालिकाको केन्द्र तोकिएको थियो । गाउँपालिकाको नाम भने यथावत रहेको छ।

सात सय ५३ स्थानीय तहमध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । २३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ। गाउँ तथा नगरसभाको सिफारिसकै आधारमा सरकारले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ अनुसार स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो। जसमा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्रमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने उल्लेख छ।

गाउँ तथा नगरसभाबाट नाम वा केन्द्र हेरफेर गर्नका लागि प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरिएको खण्डमा सरकारले सो सिफारिस अनुसार गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र फेरिएको घोषणा गर्नुपर्ने कानूनी व्यवस्था छ । सरकारले गत २४ पुसको राजपत्रमा सूचना प्रकाशित गरी ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको जनाएको हो।