चितवन, २६ पुस । पृथ्वीराजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ५ स्थित मुग्लिन नजिकै पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीका अनुसार काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नं ४ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको  चितवनका प्रहरी प्रमुख (उपरीक्षक) दिपक थापाले  बताए ।आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार सोही गाउँपालिका वडा नं ४ का बर्ष ५२ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नं ३ का ५५ वर्षीय राम बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

ट्रकले ठक्कर दिएपछि बस दुबै सडकबाट करीब ५०र६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ । ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ