चितवन, १४ मंसिर । त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु सात जनाको सनाखत भएको छ। नदीमा हराएकाको भने खोजी कार्य जारी रहेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका अन्दाजी ३० वर्षीय विष्णु रहेको जानकारी दिएका छन्। उपचारका लागि ललितपुरको बिएण्डबी अस्पताल र्पुयाएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँचीकी ४३ वर्षीय लक्ष्मी पौडेलको उपचारका क्रममा हिजोनै मृत्यु भएको थियो।
लु २ ख २९१ नं को उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो। घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १३ जनाको बिएण्डबी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अन्य तीन जना भने बेपत्ता भएको अनुमान गरिएको छ। प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनिषा थापा र शंकर कुँवरका परिवारले उनीहरु बेपत्ता भएको जनाएको बताएका छन्। दुर्घटनामा घाइते भएका छ महिने बालककी आमा मनिषा थापा भएको उनले बताए। बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। बसले शुरुमा २६ जनाको चलानी काटेको र कलंकीबाट चढेकासहित चालक र सहचालक गरी जम्मा ३२ जना रहेको बताइएको छ।