चितवन, १३ मंसिर  । पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमिलङबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात जनाको पुगेको छ ।दुर्घटनाग्रस्त बसबाट अन्य  २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–३  स्थित चुम्लिङटार नजिकैबाट  त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।

विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको हो ।

मृतक ६ जनाको दुर्घटना लगत्तै शव निकालिएको थियो भने अन्य एक जनाको गोताखोरले पानीमा डुबेको बस भित्रबाट शव निकालेको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । बस पूर्णरुपमा त्रिशूलीमा डुबेको छ ।

घाइतेहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।  केही घाईतेहरुलाई हेलीकप्टर मार्फत पनि उपचारका  लागि लगिएको  छ ।  बसमा कति यात्रु थिए भन्ने अझै खुलेको छैन ।