काठमाडौं, १२ मंसिर । प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणअन्तर्गत आइतबार सम्पन्न निर्वाचनको अधिकांश मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा जम्मा गरिएको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रका दुर्गम स्थलमा आइतबार ढुवानी गर्न नसकिएका मतपेटिका हेलिकोप्टरबाट हिजो ल्याइएको निर्वाचन आयोगले जनाएको छ ।

मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा व्यवस्था मिलाएको छ ।पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

दुई चरणको निर्वाचन कार्यतालिका अनुसार गत आइतबार ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ तथा प्रदेशसभाका ७४ क्षेत्रमा निर्वाचन भएको थियो ।

पहिलो चरणमा मतदान भएका विकट पहाडी तथा हिमाली क्षेत्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएर आयोगले अहिले जिल्ला निर्वाचन कार्यालयमा बन्द कोठामा राख्ने र सिल गर्ने काम गरिरहेको छ ।

मंगलबार साँझसम्म सबै ३२ जिल्लाका मतपेटिका सिलबन्दी भईसक्ने आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले बन्दकोठाभित्र सम्बन्धित निर्वाचन क्षेत्रका गाउँपालिका तथा नगरपालिकाका नाम भित्तामा टाँसेर त्यहीं मतपेटिका राख्ने गरी व्यवस्थापन गरेको छ ।

बलियो गरी कोठाका झ्यालढोका बन्द गरेर मतपेटिका राखेपछि कोठामा निर्वाचन अधिकृतले दलहरूका प्रतिनिधिको रोहबरमा लाहाछाप लगाई सिलबन्दी गरिएको छ ।

दलका उम्मेदवारले निर्वाचन अधिकृतले लगाएको तालामा भर नगरेको ठाउँमा भने आ–आफ्नै ताला पनि लगाएर सिल गरेको आयोगले जनाएको छ ।

मतपेटिका राखिएको स्थानसँगै रहने गरी निर्वाचन क्षेत्रका अधिकृतलाई मतगणना नहुँदासम्म बस्ने व्यवस्था मिलाइएको छ ।

मतपेटिका राखेको कोठाबाहिर उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधि बस्न चाहे निर्वाचन अधिकृतको अनुमतिमा बस्ने व्यवस्था पनि आयोगले गरेको छ ।

कुनै उम्मेदवारले मतपेटिका राखेको ठाउँ अवलोकन गर्न चाहे उम्मेदवार वा उम्मेदवारका आधिकारिक प्रतिनिधिको रोहबरमा अवलोकनको व्यवस्था पनि मिलाइएको आयोगले जनाएको छ ।

गृह मन्त्रालयले पनि मतदानको बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेराको व्यवस्था गरिएको जनाएको छ ।

सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी अवस्थामा रहेको सशस्त्रको टोली पनि मतपत्र सुरक्षामा खटिएको छ ।

मतपत्र कसरी सुरक्षित राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले अवस्था हेरेर निर्णय लिने गृह मन्त्रालयले जनाएको छ ।

जिल्लाका सबै मतपत्र एकै स्थानमा भण्डार गर्ने व्यवस्था मिलाइएको पनि गृहको भनाइ छ ।