१० मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आईतबार विहान ७ बजेबाट ३२ जिल्लामा मतदान सुरु भएको छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुने छन् ।
३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन लाई लिइएको छ । यो निर्वाचन सम्पन्नपछि ११ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य हुनेछ । विहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।