गोरखा, १० मंसिर । नयाँ शक्ति पार्टी नेपालको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा नगद १ लाख सहित ५ जनालाई जौबारी युवा क्लबका युवाहरू ले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
गाडी भित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख भेटिएको हो । आज हुने चुनावलाई प्रभाव पार्न निर्वाचन आचारसंहिता उलंघन गर्दै गोरखा जिल्ला क्षेत्र नम्बर -२ का उम्मेदवार एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई ले पैसा बाडेको स्थानीय युवा भगत दवाडी ले आरोप लगाउनुभयो ।
एक झोला पैसा बोकेर लगेका रहेछन स्थानीय युवा अर्जुन ढकाल ले भन्नुभयो : बाडेर फर्कदै गर्दा एक लाख मात्रै पक्रन सफल भयौ ।
राती १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुई अन्तर्गत शिरानचोक गाउँ पालिका -८ गोपालडाडामा युवाहरुले गाडी, नगद रकम र ५ जना युवाहरूलाई नियन्त्रणमा लिएका हुन ।
निर्वाचन आचारसंहिता बिपरित मध्य रातमा नगद र गाडी लिएर हिडेका नयाँ शक्तिका युवाहरूलाई अहिले ईलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ ।
चुनावको अघिल्लो दिन राती नयाँ शक्ति नेपालमा आवद्ध युवाहरूले पैसा बाडेर भोट किन्न खोजेको स्थानीयले आरोप लगाएका छन ।
गाडीमा नयाँ शक्ति पार्टी नेपालको चुनावी सामाग्री, झण्डा, पर्चा/पम्पेल्टहरु र बियरका खाली बोटलहरु भेटिएका छन ।
अजिरकोट बाट भालुस्वरा तर्फ आउदै गरेको ग २ च १७२५ नम्बरको महेन्द्र बोलेरो पिकअप गाडीमा नगद एक लाख र प्रचार सामाग्री सहित नया शक्ति पार्टीका ५ जना युवालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जौबारीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका-१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ त्यसैगरी गोरखा नगरपालिका-६ का भरतकुमार श्रेष्ठ र गोरखा -८ बस्ने खुशबहादुर थापा रहेका छन ।