चितवन (काउले) ६ मंसिर । वाम गठबन्धन तथा नेकपा एमाले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले काउले क्षेत्रमा अधुरा रहेका विकासका कामहरु अवको ५ वर्षमा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
वुधबार इच्छाकामना गाउँपालिका वाड नम्बर १ हात्तीवाड, तल्लो काउले, मायाटारलगायतका क्षेत्रमा भएको जनतासँगको भेटघाटका क्रममा उम्मेदवार पोखरेलले गत ४ वर्षको अवधिमा आफूले सकेको काम गरेको र अझै पनि केही काम गर्न बाँकी रहेकाले बाँकी रहेको काम पनि आफ्नै नेतृत्वमा अव पूरा गर्ने जनाएका हुन् ।
यस अघि उनले यस क्षेत्रमा विजुली, ग्रामीण सडक, खानेपानीको समस्या समाधान गरेका थिए । उनको कामबाट प्रभावित भइ स्थानीयले यस पटक पनि जिताउने बाचा गरेको नेकपा एमाले जिल्ला सचिवालय सदस्य घनश्याम भट्टराइले जानकारी दिए ।
त्यस्तै वाम गठबन्धन तथा नेकपा माओवादी केन्द्र प्रदेशसभा २ (क) का उम्मेदवार घनश्याम दाहाल अविनाशले पनि यस क्षेत्रको विकासका लागि आफू लागि पर्ने बताए । कुनै पनि स्थानको विकास गर्न सोही ठाउँको हुनुपर्ने भन्ने बाध्यता नरहेको भन्दै दाहालले इच्छा, चाहना र प्रतिवद्धता भएमा जुनसुकै स्थानको पनि विकास गर्न सकिने बताए । पहाडका मुल समस्याहरुसँग आफू परिचित रहेको दाहालको भनाइ थियो ।