चितवन, ३० कात्तिक । चितवन क्षेत्र नं.१ अन्तर्गत नेपाली काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले विहीवार रत्ननगर ५ झुवानीमा घरदैलो र कोणसभा गरेका छन । प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी र प्रदेश सभा(ख)का उम्मेदवार उत्तम आचार्यले जनताको घरदैलोमा पुगेर भोट मागेका हुन ।

घरदैलो पछि आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बुर्लाकोटीले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन । काँग्रेसले मात्र मुलुकमा सुसासन र विकास गर्न सक्ने भन्दै उनले यस पटकको निर्वाचनमा काँग्रेसलाई बहुमतले विजय गराउनु पर्ने बताए । लोकतन्त्र र जनताको रक्षा गर्ने एक मात्र पार्टी काँग्रेस रहेको भन्दै उनले निर्वाचनमा बाटो नविराउन मतदातालाई आग्रह गरे । कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार आचार्यले विकास र समृद्धिका लागि काँग्रेसको जीत आवश्यक रहेको बताए । प्राप्त उपलब्धी रक्षाको लागि काँग्रेसको बहुमतको सरकार जनताले चाहेको दावी गरे ।

झुवानी चोकबाट सुरु भएको घरदैलो टरौली,थारु बस्ती हुदै डडराई गाउँ सम्म पुगेको थियो । घरदैलोमा क्षेत्रीय सभापति कुमार कार्की,नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे,खैरहनी सभापति शशी खनिया,महासमिति सदस्य बासु ढुंगाना,विजय ओझा,जिल्ला प्रबक्ता निता ढकाल,सहसचिव सुर्य अर्याल लगायतको सहभागिता रहेका थियो ।