सुमन सुवेदी
भरतपुर : चितवन मेडिकल कलेज (CMC) ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट क्यान्सर पीडितहरूलाई दिइने निःशुल्क उपचार सुविधा (३ लाखसम्मको) लाई आफूले प्रदान गर्ने सेवा हो भन्ने भ्रामक आशयसहितको ठूलो होर्डिङ बोर्डमार्फत प्रचार गरिरहेको पाइएको छ।सरकारले जारी गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गम्भीर रोगहरू, जस्तै क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी आदि उपचारका लागि निश्चित शर्तमा अधिकतम ३ लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराइन्छ। यो सुविधा सरकारी योजनामार्फत, विशेष प्रक्रिया पूरा गरेपछि मात्र प्रदान गरिन्छ।
तर, चितवन मेडिकल कलेजले उक्त सरकारी योजना आफ्नो अस्पतालबाट स्वतः प्रदान हुने सुविधा हो भनेर जनाउने गरी सार्वजनिक स्थानमा राखिएका होर्डिङ बोर्डहरूमा “क्यान्सर उपचारमा ३ लाखसम्म निःशुल्क सेवा” भनेर उल्लेख गरिएको छ। विज्ञापनमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नाम प्रष्ट उल्लेख गरिए पनि, वास्तविक प्रकृया र शर्तहरूबारे स्पष्ट जानकारी नदिइएकाले यसले सर्वसाधारणलाई भ्रममा पार्ने अवस्था सिर्जना गरेको छ।
यस विषयमा स्वास्थ्य बीमा बोर्डका एक अधिकारीले नाम नखुलाउने शर्तमा भने, “यदि कुनै निजी संस्थाले सरकारी सेवा आफूले दिएको हो भनेर भ्रामक तरिकाले प्रचार गर्छ भने, यो उपभोक्ता संरक्षण ऐन र सार्वजनिक स्वास्थ्य नीतिको उल्लंघन मानिन्छ। यस्तो विज्ञापनमा कारबाही हुन सक्छ।”
यस किसिमको प्रचारप्रसारले एकातर्फ सर्वसाधारणलाई भ्रमित बनाउने, अर्कोतर्फ सरकारी नीतिको दुरुपयोग हुने जोखिम उच्च हुन्छ। यस विषयमा सम्बन्धित निकायहरूबाट छानबिन र आवश्यक कारबाहीको माग उठ्न थालेको छ।
इच्छाखबर संवाददाता












