आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसलाई बस उपलब्ध गराउने भएको छ ।आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, क्याम्पस प्रमुख भवदत्त शर्मा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र आँबुखैरेनी क्याम्पसका स्ववियु अध्यक्ष निशान मगरले एक सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरी यही २०८२ वैशाख ७ गते आइतबारदेखि पालिकाले क्याम्पसका विद्यार्थीहरूका लागि बस सञ्चालनमा ल्याउने भएको हो ।
विद्यार्थीको सहजताका लागि गाउँपालिकाले बस उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । चालक लगायत सञ्चालनको जिम्मेवारी क्याम्पसले लिनुपर्नेछ । बस सञ्चालनमा आउने समस्याको समाधान क्याम्पसले नै गर्नुपर्ने शर्त राखिएको छ ।
शिक्षा क्षेत्रलाई सशक्त बनाउन गाउँपालिकाले फेरि एक पटक दुरदर्शिता निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यो सहकार्य स्थानीय तह र शैक्षिक संस्थाबीचको समन्वयको उत्कृष्ट उदाहरण बनेको छ ।शिक्षामा गरिरहेको लगानीले दीर्घकालीन रूपमा स्थानीय विकासमा महत्वपूर्ण प्रभाव पार्ने गाउँपालिका र क्याम्पस प्रशासनले विश्वास लिएको छ । आँबुखैरेनी गाउँ पालिकाकै एक मात्र उच्च शैक्षिक संस्थाको रूपमा रहेको आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूले यातायातको समस्या भोग्दै आइरहेको थियो । पहिलो पटक बस सुविधा पाउने भएपछि विद्यार्थी तथा अभिभावकहरु खुशी भएका छन् ।

इच्छाखबर संवाददाता












