आँबुखैरेनी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम गाउँ सम्मेलनले मगरको नेतृत्वमा ३५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम् आँबुखैरेनी गाउँपालिकाका ईन्चार्ज मनोज बास्तोलाको अध्यक्षता,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमानको प्रमुख आतिथ्यता, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सचिवालय सदस्य सुर्य बहादुर गौली, नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य एवम् तनहुँ जिल्ला सचिव शुक्र चुमानको विशेष आतिथ्यता तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्ष एवंम केन्दिय उपमहासचिव सुदिन पौडेल, नेकपा( माओवादी केन्द्र) आबुखैरेनी गाउँ समितिका अध्यक्ष खगराज गौलि लगायतको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको इतिहास र कम्युनिस्ट आन्दोलनको विषयमा साथै पार्टीको हालको अवस्था र समग्र गण्डकी प्रदेशको अवस्थाको बारेमा प्रष्ट्याउनुभएको थियो ।
अखिल(क्रान्तिकारी) ले यतिबेला आन्तरिक संगठन लाई व्यवस्थित र सुदृढीकरण गर्दै छ। तनहुँको जिल्ला सम्मेलन भदौको ६ गते दमौलिमा, र प्रदेश सम्मेलन भदौको १६/१७ गते पोखरामा र केन्द्रीय सम्मेलन असोजको २–५ गते सम्म चितवनमा हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

इच्छाखबर संवाददाता












