घैरुङ : गोरखाको शहिद लखन गाउँपालिकाको २०८०÷८१ मा समग्र खर्च ८१.६ प्रतिशत भएको छ । बिहिबार सम्पन्न समिक्षा कार्यक्रममा उक्त जानकारी गराएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरका अनुसार चालु तर्फ ८६.३४ र पुजीँगत तर्फ ७२.०२ प्रतिशत खर्च गर्न सफल भएको हो ।
गाउँपालिका उक्त आर्थिक वर्षमा २ करोड ३६ लाख ९४ हजार ५४४ आन्तरिक तर्फ आम्दानी गरेको छ । गाउँपालिकाले रु. २ करोड ३५ लाख आन्तरिक आम्दानीको लक्ष्य लिएका थिए । गाउँपालिकाको वेरुजु भने ०.९७ प्रतिशत मात्र रहेको छ ।

गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ आर्थिक वर्ष २०८०/८१ मा प्रशासकिय भवन निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको गाउँपालिका पूर्वाधार प्रमुख राजन रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ९ कार्यालय निर्माण सम्पन्न भएको छ । लखन थापा लोकमार्ग अन्तरर्गत नामजुङ–घैरुङ सडक खण्डको ३.५ कि.मि. कालोपत्रेको कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । देउराली व्हाक रानीधारा तिनघरे चिसापानी तिनमाने घैरुङ सडक स्तरोन्नती कार्यको दोश्रो चरणको काम सम्पन्न भएको छ । वडा नम्बर ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । चण्डिका आधारभूत विद्यालयको भवन निमाण कार्य सम्पन्न भएको छ । तिनमाने जुम्ली चौतारा राइनाश सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ । गाउँपालिका परिसरको संरक्षण घेराबार तथा पूर्वाधार विकास निर्माण कार्य सम्झौता बमोजिम सम्पन्न भएको छ । सडक बोर्ड अन्तरर्गत सडक मर्मत सम्भार तथा स्तरोन्नती कार्यको बाँसकोट–बतासे सडकको काम सम्पन्न र जुम्लीचौतारा तिउरीभञ्ज्याङ ढाडबारी डाडाँ गाउँ सडक मर्मत कार्य सम्पन्न भएको छ । राङ्दीखोला झोलुङ्गेपुल निर्माण सम्पन्न भएको छ ।
यस अन्तरक्रियाले गाउँपालिकाको विगत वर्षको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आगामी वर्षका लागि रणनीतिक योजनाहरू तर्जुमा गर्न महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिकाले जनाएको छ । व्यापक र समावेशी सहभागितामूलक कार्यक्रमले गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै यस कार्यक्रमले स्थानीय सरकारको कार्यप्रणाली र विकास प्रक्रियालाई अझ बढी प्रभावकारी र जनमुखी बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ । समग्रमा, यो वार्षिक समीक्षा कार्यक्रम शहिद लखन गाउँपालिकाको समग्र विकास र सुशासन प्रवर्द्धनको दिशामा एक महत्वपूर्ण कोशेढुंगा सिद्ध हुने विश्वास गरिएको छ ।
कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा वडाध्यक्षहरुले वडाको प्रगति प्रतिवेदन प्रश्तुत गरेका थिए । ती प्रतिवेदनहरुमाथि छलफल तथा अन्तरक्रिया समेत गरेका थिए । कार्यक्रममा उपस्थित महानुभावहरुले आफ्नो सुझाव तथा प्रतिक्रियाहरु प्रश्तुत गरेका थिए ।
जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष रमेश बाबु थापाको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियार, गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रम गाउँपालिका सूचना अधिकारी पूर्ण बहादुर गहतराजले सञ्चालन गर्नुभएको थियो ।
इच्छाखबर संवाददाता












