चितवन :  नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर महानगरपालिका–१६ गुम्बाचोकबाट  ५९ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
यसैबिच भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ ।

भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई आफन्तको घर र भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जनालाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर–३ को न्युरोड र नगरवन जोड्ने झोलुङ्गेपुल पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुङ्गे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रजिअ यादवले जानकारी दिनुभयो ।

नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ ।