इच्छाकामना :  चितवनको  इच्छाकामनामा पनि धान दिवस मनाइएको छ । जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ  इच्छाकामना गाउँपालिका कृषि शाखाको आयोजनामा  वडा नम्बर ७ स्थित  गर्दासमा किसानको खेतमा जनप्रतिनिधि कर्मचारी र किसानहरुले धान रोपेर २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव मनाइएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले अन्य वडामा भन्दा वडा नम्बर  ७ मा धान खेतीयोग्य जमिन धेरै भएकाले यहाँ आएर धान दिवस मनाइएको बताउनुभयो । गाउँपालिकाले किसानहरुका लागि विभिन्न अनुदान, तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । गाउँपालिकाले यस आर्थिक बर्षको बजेट पनि  सबै किसानहरुलाई सम्बोधन हुने गरि ल्याइएको बताउनुभयो ।
उपाध्यक्ष माया सिलवालले  किसानहरुलाई  हौसला प्रदान होस भनी किसानको खेतमै  धान रोपेर  राष्ट्रिय धान दिवस मनाइएको  बताउनुभयो ।
वडाध्यक्ष बम बहादुर थापा मगरले गाउँपालिकाले किसानहरुका लागि अत्यन्त महत्वपूर्ण सहयोगहरु गर्दै आइरहेको बताउँदै आजको कार्यक्रममले किसानहरुको मनोवल बढ्ने विश्वास  व्यक्त गर्नुभयो ।

किसान विजुलीप्रासद भण्डारीले सिचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने भएकाले   यहाँका खेतवारीमा सिचाँइका लागि डिप बोरीङको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।  उहाँले गाउँपालिकाले  किसानको खेतमै आएर  राष्ट्रिय धान दिवस मनाई किसानलाई  हौसला प्रदान  गरेकोमा जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।

स्थानीय किसान विजुलीप्रसाद भण्डारीको खेतमा गरिएको रोपाइमा  गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङ, उपाध्यक्ष माया सिलावल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर थापामगर कृषि शाखाका अधिकृत आशिष त्रिपाठी, जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेका थिए ।